चुनावको सुरक्षाका लागि सुदूरपश्चिममा ११ हजार ५०० म्यादी खटिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चुनावको सुरक्षाका लागि सुदूरपश्चिममा ११ हजार ५०० म्यादी खटिए


१७ कार्तिक २०७९, बिहिबार


डोटी । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको सुरक्षाका लागि सुदूरपश्चिम ११ हजार ५०० म्यादी प्रहरी खटाइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार प्रदेशमा ११ हजार ५५९ म्यादी प्रहरी निर्वाचनका लागि खटाइएको छ । कैलालीमा सवैभन्दा बढी दुई हजार आठ सय १२ म्यादी प्रहरी खटाइएको छ ।

कैलालीमा प्रतिनिधि सभाका लागि पाँच र प्रदेश सभाका लागि १० सिटमा चुनाव हुनेछ । प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि २ सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा सवैभन्दा कम सात सय ४९ जना म्यादी प्रहरी खटाइएको छ ।

प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि चार सदस्यको निर्वाचन हुने अछाममा एक हजार दुई सय ६८ म्यादी प्रहरी खटिएका छन् । यस्तै, बैतडीमा एक हजार एक सय ९१, बझाङ्गमा एक हजार एक सय ८८, डोटीमा नौ सय ५३ डडेल्धुरामा नौ सय ३७ र दार्चुलामा आठ सय २९ म्यादी प्रहरी खटाईएका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार म्यादी प्रहरीका अतिरिक्त प्रदेशमा निर्वाचन सुरक्षाका लागि ६ हजार १६८ सुरक्षाकर्मी खटिनेछन् ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा दुई हजार एक सय ४६ मतदान केन्द्र कायम गरेको छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन भन्दा यो निर्वाचनमा ४३ मतदान केन्द्र थपिएका छन् । स्थानीय तह निर्वाचनमा २ हजार १०३ मतदान केन्द्र थिए ।

यस्तै, प्रदेशभित्र २६ मतदान स्थल थप भएका छन् । गत निर्वाचनमा एक हजार १३५ मतदान स्थल रहेकामा अब १ हजार १६१ पुगेका छन् ।

यस प्रदेशमा १६ लाख ५८ हजार ४ मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । महिला मतदाता आठ लाख ४२ हजार ७७४ र पुरुष मतदाता संख्या ८ लाख १५ हजार २१२ रहेको छ । सुदूरपश्चिमा पुरुष भन्दा महिला मतदाता २७ हजार ५६२ ले बढी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस