विमानस्थलले रोक्यो नेपाल एयरलाइन्सको दिल्ली उडान « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

विमानस्थलले रोक्यो नेपाल एयरलाइन्सको दिल्ली उडान


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको वाइडबडीको आरए-२१७ को उडान रोकिएको छ । दुई सय ५४ जना यात्रु रहेको उक्त विमानको उडान आइतबार दिउँसो १ ४५ बजेलाई तय थियो।

तर नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको उडान कटौती गरेकाले उडान रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । वायुसेवाहरूको विन्टर सेड्युल (अक्टोबर ३० बाट २०२३ मार्च २७ सम्मको उडान तालिका) मा उडान कटौती गरिदिएकाले विमानस्थलले उडान रोकेको हो।

प्राधिकरणले उडान कटौती हुनेबारे नेपाल एयरलाइन्सलाई गत करिब दस दिनअघि नै सूचना दिएको थियो। अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी वायुसेवा कम्पनी हिमालय र नेपाल एयरलाइन्सलाई प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा एक उडान गर्न पत्राचार गरेको थियो। भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू नगरे काठमाडौँबाट दैनिक हुने उडान कटौती गरिने जानकारी पनि दिएको थियो।

नेपाल एयरलाइन्सले यात्रुलाई जानकारी नदिई आफ्नै हिसाबमा उडान तय गर्दा आइतबार अढाई सयभन्दा धेरै यात्रु विमानस्थलमा अलपत्र परेका छन्।

अबका पनि उडान कटौती भइरहने हुन् कि भन्ने प्रश्नमा खड्काले यसबारे सम्बन्धित निकायहरूसँग छलफल भइरहेको बताइन्। भैरहवा विमानस्थलबाट उडान नगरेकै कारण कटौती भए पनि तत्काल त्यहाँबाट उडान भर्नसक्ने अवस्था भने नरहेको पनि उनले बताइन्।

हाल नेपाल वायुसेवा निगमले काठमाडौँ-नयाँ दिल्ली दैनिक दुई उडान गर्दै आइरहेको छ। सातामा १४ उडान गरिरहेको निगमका हाल प्राधिकरणले चार वटा उडान कटौती गरिदिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस