दीपावलीको प्रकाशले सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् : राष्ट्रपति « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

दीपावलीको प्रकाशले सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् : राष्ट्रपति


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गरेकी छिन्।

तिहारको पावन अवसरमा शुभकामना जारी गरी भण्डारीले देश विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन्।

‘तिहार पर्वले एकातिर प्रकृति‚ मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बिचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँछ’, उनको सन्देशमा उल्लेख छ, ‘तिहारको अवसरमा खेलिने देउसी/भैलोको दक्षिणाबाट स‌कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेको छ।’

भण्डारीले यस प्रकारका असल परम्परा र अभ्यासलाई जोगाउनु पर्ने बताएकी छिन्। तर बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने क्रमशः हटाउँदै जानुपर्ने उनको सन्देशमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस