काठमाडौँ । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य देवी खड्काले दोलखा जिल्ला इन्चार्जबाट राजीनामा दिएकी छिन् । पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर केही दिनअघि जिल्ला इन्चार्जबाट राजीनामा दिएकी हुन । उनले पार्टीको पोलिटब्यूरो सदस्यबाट भने राजीनामा दिएकी छैनन् ।
‘मैले अरू कारण भएर जिल्ला इन्चार्जबाट राजीनामा दिएकी होइन । मेरो स्वास्थ्य ठिक नभएको पार्टी नेता कार्यकर्ता सबैलाई थाहा छ । चुनावको बेलामा सकिँदैन भनेर इन्चार्जबाट राजीनामा दिए’ खड्काले भनिन् । खड्काले अरू राजनीतिक कारण इन्चार्ज पदबाट राजीनामा नदिएको जिकिर गरिन । तर, खड्काले पार्टीबाट निकट नपाएकै कारण राजीनामा दिएको हुनसक्ने आकलन गरिएको छ । दोलखामा गठबन्धनबाट माओवादी नेता गङ्गा कार्कीले टिकट पाएकाले असन्तुष्ट भएको हुनसक्ने बताएको छ । खड्का र कार्की नातामा साली भेना पर्छन् ।
उनले समेत उम्मेदवारको आकाङ्क्षा राखेकी थिइन् । उनले प्रदेश वा प्रतिनिधि कतै टिकट नपाएपछि असन्तुष्ट भई राजीनामा दिएको हुनसक्ने बताइएको छ । खड्का पहिलो संविधानसभा चुनाव २०६४ सालमा दोलखाबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । त्यसपछि राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिन् । २०७० सालयता प्रत्यक्ष वा समानुपातिक सांसदमा कतै नसमेटिएपछि उनी असन्तुष्ट भएको हुनसक्ने बताइएको छ ।