सन्दीपलाई थप समय हिरासत राख्न अनुमति लिने तयारीमा प्रहरी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सन्दीपलाई थप समय हिरासत राख्न अनुमति लिने तयारीमा प्रहरी


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । प्रहरीले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरेको छ ।

अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौँसँग अनुमति माग्ने तयारी गरेको हो ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई सार्वजनिक बिदाका कारण २४ असोजमा मात्र पहिलो पटक अदालत उपस्थित गराइएको थियो । सुरुमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो ।

दोस्रो पटक थपिएको म्याद मङ्गलवार सकिँदै छ ।

दोस्रो पटक म्याद थप हुँदा सन्दीपको पक्षमा वकालत गरिरहेका कानुन व्यवसायीहरूले थपिएको म्यादपछि मुद्दा दर्ता होस् भन्ने चाहेको बताएका थिए । तर प्रहरीले घटनामा अनुसन्धान नसकिएको बताएको छ । र, थप समय हिरासतमा राख्न अनुमति लिने तयारी गरेको छ ।

कानुनतः प्रहरीले २४ दिनसम्म लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । प्रहरीले यो अवधिमा सरकारी वकिलको उपस्थितिमा लामिछानेको बयान लिएको छ । त्यसमा उनले जाहेरवालासँग घुम्न गएको र सँगै बसेको स्वीकारेका छन् । यद्यपि, जबरजस्ती करणीको अभियोग चाहिँ अस्वीकार गरेका छन् ।

प्रहरी स्रोतका अनुसार लामिछानेले पीडित भनिएकै किशोरीको आग्रहमा आफूहरू घुम्न गएको पनि दाबी गरेका छन् । पीडित किशोरी लामिछानेकी ‘फ्यान’ थिइन् । त्यसैको फाइदा उठाएर उनले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस