कर्मचारी र खर्च कटौती गर्दै गाडीका डिलर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारी र खर्च कटौती गर्दै गाडीका डिलर


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । गाडी आपूर्ति र बिक्री वितरण गर्ने कम्पनीहरूले कर्मचारी र सञ्चालन खर्च कटौती गर्न थालेका छन् ।

काठमाडौँ । गाडी आपूर्ति र बिक्री वितरण गर्ने कम्पनीहरूले कर्मचारी र सञ्चालन खर्च कटौती गर्न थालेका छन् । सरकारले निजी प्रयोजनका चारपाङ्ग्रे कार जीप, भ्यान आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याएपछि गाडी शोरुम (डिलर)हरुले खर्च कटौती थालेका हुन् ।

दसैँपछि प्रतिबन्ध खुल्ने आशामा रहेका डिलरहरू २ महिना प्रतिबन्ध लम्बिएपछि खर्च कटौतीमा आक्रमम देखिएका छन् । आगामी मंसिरमसान्त (१५ डिसेम्बर)मा आयात प्रतिबन्ध हटेपनि उपभोक्ताले अब सन् २०२३को नयाँ मोडल पर्खिने भएकाले तुरुन्तै व्यापार पुरानो गतिमा नफर्किने व्यवसायीको विश्लेषण छ । यसकै आधारमा डिलरहरूले खर्च कटौती गर्न विभिन्न उपायहरू अपनाउन थालेका छन् ।

नाडा अटोमोबिल्स एसोसिएसन अफ नेपालका अनुसार उपत्यका बाहिरमा केही चारपाङ्ग्रे सवारीका शोरुमहरुले सटर ‘डाउन’ गरेका छन् । सवारी आयात खुलेर सहज अवस्था नभइन्जेल खर्च मात्रै गरेर शोरुम नखोल्ने गरी डिलरहरूले निर्णय गरिरहेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।

कति डिलरहरू अहिले बन्द छन् भन्नेबारे नाडाले अध्ययन थालेको उनले बताए । नाडाका अनुसार शोरुम बन्द गरेपछि कार्यरत कर्मचारीलाई अनपेड-लिभ (बेतलबी बिदा) दिइँदै छ ।

शोरुम खुला राख्दा कर्मचारी, दैनिक कार्यालय सञ्चालन, पानी, बत्ती, बिजुली र अन्य विविध खर्च हुने भएकाले यस्ता खर्च कटौती गर्न डिलर बन्द गर्ने सोच बनाएको चितवनका एक अटो डिलर व्यवसायीले बताए ।

गाडीको अभावमा दसैँमा गाडी किन्न आएका धेरै ग्राहकलाई फिर्ता पठाउन बाध्य भएको उनको गुनासो छ । यसले कम्पनीको आफ्नो कम्पनीको छविमा समेत असर पारेको उनले बताए । व्यापार नभएपछि बैङ्कको ब्याज तिर्न समेत समस्या भएको भन्दै उनले जग्गा बेचेर भए पनि ऋणको व्यवस्थापन गर्ने निर्णय लिएको सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस