राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट पेस « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट पेस


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लङ्घन गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

अधिवक्ता डा.सुनिलरञ्जन सिंहसमेतले पेस गरेको रिट बुधबार सर्वोच्च अदालतमा दर्ता हुन सकेन । सर्वोच्च अदालतका कर्मचारीहरूले बिहीबार निवेदन दर्ता हुने आश्वासन दिएको उनले बताए ।

रिटमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संविधानको धारा १०, ११, १२, १३, १४, १५ १६(१), १८९१०, ६६(१), १११ र ११३(४) को गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ ।

निवेदनमा विधेयक प्रमाणीकरण नगरेकाले योग्य नेपालीले नागरिकता नपाई संविधानको धारा ११ उल्लङ्घन भएको दाबी गरिएको छ । संविधानको धारा १० मा कुनैपनि योग्य व्यक्तिलाई नागरिकताको अधिकारबाट वञ्चित नगरिने उल्लेख छ ।

संविधानको धारा १२, १३ र १४ मा समेत नागरिकताका प्रावधानहरू छन् । विधेयक प्रमाणीकरण नहुँदा संविधानमा उल्लेख भएको संघीय कानून बमोजिम नागरिकताका प्रावधान सञ्चालित हुन नपाएको भन्ने रिट निवेदनमा दाबी गरिएको छ ।

विधेयक प्रमाणीकरण नहुँदा सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक लगायतका संवैधानिक हक उल्लङ्घन भएको रिट निवेदनमा उल्लेख छ ।

विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधानमा उल्लेखित आफ्नो काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको रिटमा उल्लेख छ । विधेयक अघि बढाउने र विधेयक प्रमाणीकरण गर्ने संवैधानिक व्यवस्थाको पालना नभएको सर्वोच्च अदालतमा पेस भएको निवेदनमा उल्लेख छ ।

रिट निवेदनमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्न आदेश जारी हुनुपर्ने माग छ । अनि विधेयक प्रमाणीकरण नगर्ने कुनै निर्णय भएको भए त्यसको बदर हुनुपर्ने माग समेत छ ।

Tags :
प्रतिक्रिया दिनुहोस