सम्पत्ति बहालमा लगाउने विद्यालयको तथ्याङ्क खोज्दै महानगर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सम्पत्ति बहालमा लगाउने विद्यालयको तथ्याङ्क खोज्दै महानगर


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयबाट पनि बहाल कर उठाउने भएको छ । सम्पत्ति बहालमा दिई आय आर्जन गरिरहेका सामुदायिक विद्यालयलाई १० प्रतिशत बहालकर बुझाउन महानगरपालिकाले आग्रह गरेको छ ।

तर कति विद्यालयले आफ्नो सम्पत्ति बहालमा लगाएका छन् भन्ने विवरण महानगरपालिकासँग छैन । महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्, जसमध्ये ५९ माध्यामिक र ३० वटा आधारभूत विद्यालय छन् । ४/५ वटा आधारभूत र २० वटा माध्यमिक विद्यालयले सम्पत्ति बहालमा लगाएर आम्दानी गरिरहेको महानगरपालिकाको अनुमान छ ।

महानगरपालिकाको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले सम्पत्ति बहालमा दिने विद्यालयहरूको तथ्याङ्क सङ्कलन गरिरहेको बताए ।

सम्पत्ति बहालमा लगाउने विद्यालयमा काठमाडौँ ठमेलको जुद्धोदय मावि पनि एक हो । उसले २०६५ सालमा बनेको उत्तर पूर्वतर्फको पाँच तले भवन भाडामा दिएको छ । 

बाँसबारीस्थित बाँसबारी माविले पनि पाँच वटा सटर भाडामा लगाएको छ । सडकसँगैका कक्षाकोठामा गाडीको आवाजले पठनपाठन गराउन समस्या हुने भएपछि सटर बनाएर भाडामा लगाएको प्रधानाध्यापक अनिल झाले बताए ।

महानगरपालिकाले बहाल कर तिर्न सूचना जारी गरेको जानकारी पाएको तर पत्र नपाएको उनले बताए । महानगरपालिकालाई बहाल कर तिर्न कुनै समस्या नभएको प्रधानाध्यापक झाले बताए ।

प्रदर्शनी मार्गस्थित पद्मोदय माध्यमिक विद्यालयले भने धेरै वर्षदेखि बहाल कर तिर्दै आएको बताएको छ । 

रत्नराज्य माध्यमिक विद्यालय, पद्मकन्या माध्यामिक विद्यालय, पशुपति मित्र माध्यामिक विद्यालय लगायतले पनि आफ्नो सम्पत्ति बहालमा लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस