अछाम पहिरोमा परेकालाई सरकारले तत्काल राहत र उद्धारको व्यवस्था मिलाओस् : भिम रावल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अछाम पहिरोमा परेकालाई सरकारले तत्काल राहत र उद्धारको व्यवस्था मिलाओस् : भिम रावल


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् पूर्व(उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले गृह जिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरूलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गए राति आएको पहिरोमा पुरिएर १६ जनाभन्दा बढीको ज्यान गएको र ठुलै धनमालको क्षति भएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका हुन्।

त्यस अवसरमा उनले बाटो पहिरोले अवरुद्ध भएकाले नेपाली सेनाको हेलिकोप्टर परिचालन गरी घाइतेहरूको उपचारका लागि चिकित्सकहरूको टोली परिचालन गर्न सरकारलाई सचेत गराए।

नेता रावलले विपद्को यस घडीमा अछाम जिल्लाका पहिरो पीडितलाई राहत र उद्धारको काममा कमी हुन नदिन पनि सरकार गम्भीर हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘यो अविरल वर्षा र त्यसपछि आएको पहिरोको कारणले गर्दा अछाम जिल्लाको कमल बजार नगरपालिका, गाउँपालिका धेरै ठुलो धनजनको क्षति भएको छ। अहिलेसम्म प्राप्त सूचनाअनुसार १६ जनाभन्दा बढीको हताहत भएको खबर छ। स्थानीय प्रशासनका अनुसार र, थुप्रै घरहरू पहिरोले पुरिएका छन्। कतिपय व्यक्तिहरू अहिलेसम्म पहिरोमै पुरिएको अवस्था छ। र, त्यहाँ पुग्नका लागि स्थानीय प्रशासन सशस्त्र प्रहरीहरू, नेपाल प्रहरीलाई त्यहाँ पुग्नका लागि पहिरोले बाटो अवरुद्ध छ। अहिले त्यहाँ लत्ताकपडा, भाँडाकुँडा र घाइतेहरूको औषधि उपचारको अत्यन्त ठुलो खाँचो छ। त्यसका लागि म पुनः त्यहाँ जुन प्रकारको प्राकृतिक विपत्तिबारे हेलिकप्टरबाट चिकित्सकहरूको टोली त्यहाँ पठाइयोस् भन्ने कुरा पनि म माग गर्न चाहन्छु।’

नेता रावलले पहिरोको कारण बाटो अवरुद्ध हुँदा उद्धारका लागि गएका सुरक्षाकर्मीहरू समेत घटनास्थल अझै पुग्न नसकेको उल्लेख गर्दै तत्काल सेनाको हेलिकोप्टर परिचालन गर्न पनि सरकारसँग अनुरोध गरे।

Tags :
प्रतिक्रिया दिनुहोस