कर्मचारीलाई हतियार देखाएर लुटेको आरोपमा अटो चालक पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कर्मचारीलाई हतियार देखाएर लुटेको आरोपमा अटो चालक पक्राउ


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-४ स्थित फनपार्क नजिक रहेको ‘नारायणी मनि ट्रान्सफर’मा भएको लुटमा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ मा दिउँसो सवा १ बजेतिर मनि ट्रान्सफरमा लुटपाट भएको थियो । 

लुटमा संलग्न नवलपरासी पूर्व घर भएर चितवन महानगरपालिका-१६ बस्ने ४२ वर्षीय मिनमान सुनारलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । लुटमा संलग्न आरोपी बा.प्र-०३-००१ ह १२६३ नम्बरको अटो चालक हुन् । फनपार्क नजिक रहेको पूर्ण शङ्कर गौतमको घरमा सञ्चालित मनि ट्रान्सफरको कोठाभित्र गएर उनले धारिलो हतियार देखाएर २ लाख ४ हजार २५० रुपैयाँ डकैती गरेको प्रहरीको भनाई छ ।  

सोमबार पक्राउ गरेर प्रहरीले उनीमाथि डाँकाचोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । लुटेको रकम उनको झोलाबाट १३ हजार र डेराबाट १ लाख ६७ हजार बरामद गरिएको छ । डकैती गरेपछि सुनारले लुट्न जाँदा लगाएको कपडा खोलामा फालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस