काठमाडौँ । मदिरा सेवन गरी गए राती भाडाको ट्याक्सी चलाउँदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले आवश्यक कारवाहीको लागी सम्बन्धित वृतमा पठाएको छ ।
काठमाडौँको सुकेधाराबाट गए राती ९ बजे पक्राउ परेका बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनारलाई महाराजगन्ज वृत्त पठाइएको छ, भने काठमाडौँको कीर्तिपुरबाट बा २ ज ६५४ नम्बरको ट्याक्सी चलाउँदै गरेका ललितपुर उपमहानगरपालिका ९ बस्ने ४६ वर्षीय राजेन्द्र महर्जनलाई पनि गए राती साढे ९ बजे नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुर बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरूलाई कारबाही गर्न खोज्दा आवश्यक कागजपत्र नदिनुका साथै ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए ।
प्रहरी वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्धा चलाउन म्याद थपका लागि आज नै जिल्ला अदालत पठाइएको छ ।
सार्वजनिक सवारी साधनका चालकहरूले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागी ट्राफिक चेकजाँचलाई तीव्रता दिइएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।