वीरगञ्ज भन्सारले भेट्टाएन लक्ष्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वीरगञ्ज भन्सारले भेट्टाएन लक्ष्य


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ ।  वीरगञ्जमा रहेका दुई वटा भन्सार कार्यालय गत साउन महिनामा लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न असफल भएका छन् ।

साउनमा वीरगञ्ज भन्सारको १५ अर्ब २० करोड ७ लाख ५५ हजार र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको ४ अर्ब १४ करोड ३८ लाख ७२ हजार रुपैयाँ थियो ।

तर वीरगञ्ज भन्सारले १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार रुपैयाँ र सुख्खा बन्दरगाह भन्सार कार्यालयले ३ अर्ब ६१ करोड ८५ लाख २ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत हरिहर पौडेलका अनुसार चालु आर्थिक वर्षको साउनमा गत वर्षको साउनको तुलनामा आयात र निर्यात दुवै घटेको छ । आयात ५ प्रतिशत र निर्यात ५४ प्रतिशतले घटेको भन्सार कार्यालयको तथ्याङ्क छ ।

‘गत वर्षको साउनमा ५९ अर्ब ७९ लाख ७५ लाख ३ हजारको वैदेशिक व्यापार भएको थियो । चालु आर्थिक वर्षमा ५२ अर्ब ३४ करोड १४ लाख २३ हजार भएको छ’, उनले भने । राजस्व घट्नुको मुख्य कारण आयातमा गरिएको कडाइ नै भएको उनको भनाइ छ ।

वीरगञ्ज नाकाबाट सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थ मुख्य रूपमा भित्रिने गरेको छ । गाडी आयातमा लगाइएको प्रतिबन्ध र बैङ्कहरूले कर्जा रोक्दा पुरानो एलसीमा भित्रिएका गाडीसमेत भन्सारमा थन्किएका छन् ।

१५ सय भन्दा बढी सवारी साधन यार्डमा रोकिएको भन्सार कार्यालयले जनाएको छ । गत वर्षका तुलनामा चालु आर्थिक वर्षको साउनमा जीप, कार भ्यानको आयातमा ८५ प्रतिशत, डबल तथा सिङ्गल (क्याब, पीकअप गाडी) आयातमा क्रमशः ३१ तथा ३८ प्रतिशत, मोटरसाइकल आयातमा ६७ प्रतिशत गिरावट आएको छ ।

डिजेल, पेट्रोल, भटमासको कच्चा तेल, कच्चा पाम तेल, कोइला, एमएस विलेट, तयारी कपडा, एचआर सिट, पोलिथिन दाना आयात पनि घटेको छ ।

निर्याततर्फ प्रशोधित तेल मुख्य रहेकोमा भारतले लिएको आयात नीतिका कारण यसको निकासी पनि प्रभावित छ । तेल निर्यात खस्किएसँगै यसको कच्चा पदार्थ भित्रिने क्रम पनि घटेको छ । यो नाकाबाट भटमास, पाम र सूर्यमुखीको अर्धप्रशोधित तेल आयात हुने गरेको थियो ।

वीरगञ्ज भन्सारलाई चालू वर्षका लागि २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकिएको छ । गत वर्ष २ खर्ब ३ अर्ब रुपैयाँ लक्ष्य पाएको भन्सारले लक्ष्यभन्दा १ अर्ब बढी राजस्व सङ्कलन गरेको थियो । चालू आर्थिक वर्षका लागि पाएको लक्ष्य गत वर्षको तुलनामा २८ प्रतिशत बढी हो ।

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेले पनि आयात घटेकाले लक्ष्य अनुसार राजस्व सङ्कलन नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस