लुटपाट गरी गोली प्रहार गर्ने दुईजना पक्राउ, एक जना फरार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लुटपाट गरी गोली प्रहार गर्ने दुईजना पक्राउ, एक जना फरार


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । रुपन्देहीको रोहिणी गाउँपालिका-१ बाइपास रोडस्थित न्यू सिद्धार्थ रेस्टुरेन्टमा हतियार देखाइ नगद, सुनका गरगहना र मोबाइल लुटपाट गरी गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका-७ महुबारीका ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका-४ का २१ वर्षीय मोहम्मद असरद मुसलमान (काजु) रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा संलग्न एक जना फरार रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

रेस्टुरेन्टमा लुटपाट गरेर भाग्ने क्रममा वसन्तपुर बाइपास नजिकै मोटरसाइकलमा सवार तीन जनालाई सिद्धार्थनगर-१ बेलहियाका २८ वर्षीय विकास गुरुङले रोक्न खोज्दा तीन जनामध्ये बीचमा बस्ने व्यक्तिले गुरुङमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले बताए ।

एसपी रेग्मीकाअनुसार घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली वसन्तपुर हुँदै बाइपास जाने क्रममा भैरहवा(परासी सडक खण्डको बायाँ किनारमा (ओमसतिया गाउँपालिका-४ स्थित वसन्तपुर चोकबाट अन्दाजी ३० मिटर पूर्व) विकास गुरुङ घाइते भएको अवस्थामा फेला परेका थिए ।

घाइते गुरुङलाई बाँया कम्मरमाथि कोखामा गोली लागेको देखिएको र तत्काल उपचारको लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको उनले बताए ।

गत साउन २९ गते राति करिब १०ः४७ बजे रेस्टुरेन्टबाट २ तोला सुन, ५५ हजार नगद र ३ वटा मोबाइल फोन समेत लुटेर लगिएको भन्ने पीडितबाट निवेदन प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार पक्राउ परेका पवनराज भर यसअघि लागूऔषध, डाँका, चोरी लगायत सार्वजनिक अपराधको मुद्दामा सजाय पाइसकेको व्यक्ति हुन् ।

पक्राउ परेका पवनले मोटरसाइकल चलाएका थिए भने मोहम्मद मोटरसाइकलमा पछाडि बसेका थिए । पक्राउ परेका दुई जनालाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

उनीहरूको साथबाट अटोमेटिक पेस्तोल र चोरी भएको भिभो कम्पनीको मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस