अख्तियारले विद्यालयमा छापा मारेको विरोधमा पढाइ बन्द गर्ने चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अख्तियारले विद्यालयमा छापा मारेको विरोधमा पढाइ बन्द गर्ने चेतावनी


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । अख्तियार अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित जन नमुना माविमा बुधवार छापा मारेको विषयलाई लिएर सुर्खेतका विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकहरुले विरोध जनाएका छन् ।

उनीहरूले विद्यालयमा पठन पाठन बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

उनीहरूले अख्तियारबाट विद्यालयमा छापा मार्दा आत्मसम्मानमा चोट पुगेको बताएका छन् । बिहीबार संयुक्त रूपमा सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ,‘अभिभावकबाट प्राप्त स्वैच्छिक सहयोगबाट सञ्चालित विद्यालयहरूमा विभिन्न निकाय, व्यक्ति र संस्थाहरूबाट पटक पटक गरिने अवरोध तथा अनुचित हस्तक्षेपका कारण विद्यालयको पठनपाठन, अभिभावकको भावना, विद्यार्थीको सपना र शिक्षक तथा विद्यालयका अभिभावकीय संस्थाहरूको मनोबल र आत्मसम्मानमा चोट पुगेको छ ।’

वीरेन्द्रनगर नगरपालिकाभित्रका रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र प्रधानाध्यापकहरूको हस्ताक्षर रहेको विज्ञप्तिमा विद्यालयहरूको समस्या सम्बोधन नगरिए ७ गतेदेखि विद्यालयको पठनपाठन बन्द गराउने समेत चेतावनी समेत दिइएको छ ।

‘‘सामुदायिक विद्यालयहरूको समस्या र भावनालाई सम्बोधन नगरिएमा भदौ ७ गतदेखि नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूलाई सम्पूर्ण पठनपाठन बन्द गरिने जानकारी गराउँदछौ ।’ विज्ञप्तिमा भनिएको छ । 

साथै बन्द परिस्थितिबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने जनाएका छन् ।

जन नमुना माविले नेपालको संविधान, उच्च अदालत सुर्खेतको परमादेश र अन्तरिम आदेश विपरीत विद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको भन्ने उजुरी एवं सूचनाका आधारमा छापा मार्दा रसिद बिना विद्यार्थीसँग लिएको २ लाख ७६ हजार ६९० रुपैयाँ जफत गरेको थियो ।

सम्बन्धित समाचार : जन नमुना माविका कागजात अख्तियारको नियन्त्रणमा 

Tags :
प्रतिक्रिया दिनुहोस