७० हजार किलो जडीबुटी निकासी, १६ लाख राजस्व सङ्कलन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

७० हजार किलो जडीबुटी निकासी, १६ लाख राजस्व सङ्कलन


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ मा रुकुम पूर्वबाट ७० हजार किलो जडीबुटी निकासी भएको छ। गएको एक आर्थिक वर्षमा जिल्लाबाट ७० हजार किलो जडीबुटी निकासी भएको हो।

जिल्लामा विभिन्न २५ प्रजातिका ८१ हजार किलो जडीबुटी सङ्कलन भए पनि असार मसान्तसम्म ७० हजार किलोको छुट पुर्जी काटिएको डिभिजन वन कार्यालयका वन अधिकृत जितेन्द्र सिंह खड्काले जानकारी दिए।

उक्त जडीबुटी निकासीबाट डिभिजन वन कार्यालयले १६ लाख २३ हजार नौ सय ३५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

उनका अनुसार सङ्कलन भएको ११ हजार किलो जडीबुटी भने जिल्लामै रहेको छ। जिल्लामा सेतकचिनी, पदमचाल, साधारण च्याउ, दालचिनीको बोक्रा, अमला, अल्लो, यार्सा, पावन बोक्रा, पाखनबेद, रिठ्ठा, टिमुर, चिराइतो, कुरिलो, कुट्की, सोमायो, तेजपात, पाँचऔँलेलगायत जडीबुटी पाइने गरेको खड्काले बताए।

अघिल्लो आर्थिक वर्षमा एक लाख किलोभन्दा बढी जडीबुटी सङ्कलन भएको थियो। यो वर्ष यार्सा अत्यन्त कम सङ्कलन भएको कार्यालयले जनाएको छ। अगाडिका वर्षहरूमा १७ किलोदेखि माथिको यार्सा सङ्कलन हुने गरेकोमा यस वर्ष पाँच किलोमात्र सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ।

जिल्लाका सबै स्थानीय तहमा विभिन्न प्रकारका जडीबुटी पाइने गरेको छ। सबैभन्दा बढी जडीबुटी भने पुथाउत्तरगङ्गा गाउँपालिकाबाट सङ्कलन हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

जिल्लामा जडीबुटी खेतीलाई पनि जोड दिइएको खड्काले जानकारी दिए। टिमुर र  सेतकचिनीबाट जिल्लाका कृषकलाई जडीबुटी खेतीतर्फ जोड दिइएको छ। जडीबुटी खेती गर्ने कृषकलाई कार्यालयबाट शत प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराइ राखिएको खड्काले बताए।

टिमुर र सेतकचिनी बाहेकका अन्य जडीबुटी खेतीका लागि पनि जिल्लाका विभिन्न ठाउँको पहिचानसमेत भइसकेको कार्यालयले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस