बञ्चरेडाँडा फोहोर विवाद : ककनीमा तीन जिल्लाका सिडिओ र जनप्रतिनिधि छलफलमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बञ्चरेडाँडा फोहोर विवाद : ककनीमा तीन जिल्लाका सिडिओ र जनप्रतिनिधि छलफलमा


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँबाट बञ्चरेडाँडामा लगिएका फोहोर व्यवस्थापन गर्न समस्या भएपछि तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका छन्। 

बुधबार दिउँसो नुवाकोटमा पर्ने ककनीमा छलफल भइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। 

छलफलमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी छन्। 

यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयहरूसँग छलफल भइरहेको हो। 

‘अहिलेको यो फोहोर व्यवस्थापनमा देखिरहेको विवादका विषयमा ककनीमा छलफल भइरहेको छ। 

पछिल्लो समय काठमाडौँबाट लगेका फोहोर व्यवस्थापन गर्न त्यहाँका स्थानीयले अवरोध पुर्‍याइरहेका छन्।

काठमाडौँ, नुवाकोट र धादिङबाट बाक्लो संख्यामा प्रहरी परिचालन गरी फोहोर व्यवस्थापन गर्ने काम भइरहेको छ। बुधबार त्यहाँ सशस्त्र प्रहरी बलको टोली समेत परिचालन गरेको छ। 

त्यसक्रममा अवरोध गर्न खोज्दा प्रहरीले बल समेत प्रयोग गरेको छ। बुधबारमात्रै सडकमा अवरोध पुर्‍याएको भन्दै एक जनालाई नियन्त्रणमा समेत लिएको छ। 

यसअघि फोहोर व्यवस्थापन गर्न नदिने भन्दै बञ्चरेडाँडा-सिसडोल सङ्घर्ष समिति समेत बनेको थियो। सो समितिले आफ्ना माग पूरा नभए भदौ १ गतेदेखि निरन्तर आन्दोलन गर्ने भनेको थियो। तर पछि सो समितिले आन्दोलन स्थगित गरेको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस