३५ दिनमा हुनुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्न ७ सय ६२ दिन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

३५ दिनमा हुनुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्न ७ सय ६२ दिन


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्न कति दिन लाग्ला ? ऐन, कानुन हेर्ने हो भने यो प्रक्रिया पूरा गर्न ३५ दिन लाग्छ । तर, एउटा आयोजनाको वातावरणीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्न ७ सय ६२ दिनसम्म लागेको पाइएको छ । 

वातावरण संरक्षण ऐन, २०७६ को दफा ३ मा वातावरणीय परीक्षण एवं मूल्याङ्कन गरी प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पेस गर्नुपर्ने व्यवस्था छ । वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ मा प्रारम्भिक वातावरणीय परीक्षण १५ दिन भित्र र वातावरणीय प्रभाव मूल्याङ्कन ३५ दिन भित्र स्वीकृत गर्नुपर्ने व्यवस्था छ । 

वन तथा वातावरण मन्त्रालयले ब्रजमादी जलविद्युत आयोजना, कास्कीले २०७५ साल असोज २४ गते पेश गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्न प्रक्रियागत अवधि ७ सय ६२ दिन लागेको महालेखापरीक्षकको उनान्साठीऔं प्रतिवेदनमा उल्लेख छ । उक्त आयोजनामा पत्राचार तथा प्रमाण संकलन गर्न ७ सय ५३ दिन लागेको छ । यस्तै काली गण्डकी दाना उद्योग, स्याङ्जाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्न ७ सय १८ दिन, सहकारी शीत भण्डार, सप्तरीको ७ सय १३ दिन, बाँदर मुढे खोला पुल, चितवनको ६ सय ७५ दिन लागेको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष पेस भएको मध्ये १४ र गत विगत वर्षमा पेस भएको मध्ये ४९ समेत यस वर्ष मन्त्रालयले ६३ वटा प्रतिवेदन स्वीकृत गरेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्न भएको ढिलाइले योजनाहरू कार्यान्वयन गर्न पनि ढिलाइ भएको छ । महालेखापरीक्षकको कार्यालयले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृति कानुनले तोकेको म्याद भित्र दिने व्यवस्था मिलाउन भनेको छ । ‘वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्न भएको ढिलाइले योजनाहरू कार्यान्वयन गर्न ढिलाइ हुन गएको परामर्शदाता र निर्माण व्यवसायीको समय र मूल्य समायोजनको समयावधि बढाउनु पर्ने अवस्थाले लागत बढ्ने अवस्था छ । तसर्थ मन्त्रालयले सरोकारवालहरूसँग समन्वय गरी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृति कानुनले तोकेको म्याद भित्र दिने व्यवस्था मिलाउनु पर्दछ ।’ महालेखापरीक्षकको प्रतिवेदनमा भनिएको छ ।

सेवा प्रवाहमा सिंहदरबारस्थित मन्त्रालयको चाला नै यस्तो छ भने दूर दराजमा के होला त्यो आफै कल्पना गर्नुस् त ! मन्त्रालयका सचिव पेम नारायण कडेललाई विदेश घुम्नै फुर्सद छैन, कसले सुनिदिने, कसले बुझिदिने र सुधारी दिने ? 

प्रतिक्रिया दिनुहोस