संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल


२५ श्रावण २०७९, बुधबार


गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताको पहिचान नै प्रदेश संरचना भएको बताएका छन् ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं गत आवको वार्षिक प्रगति समीक्षा बैठकमा उनले प्रदेश स्थापनाको पाँच वर्षे अवधिमा उल्लेखनीय काम भएको बताए ।

आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने र सरकारको जिम्मेवारीमा कुनै कमी आउन नदिने उनले बताए । प्रदेशमा सडक सञ्जालदेखि खानेपानी, विद्युतीकरण लगायतका क्षेत्रमासमेत गण्डकी प्रदेश सरकारले उल्लेखनीय काम गरेको बताउँदै उनले भने,’शून्यबाट सुरु भएको प्रदेश सरकारले पाँच वर्ष बित्नै लाग्दा ५० भन्दा बढी कानुन निर्माण, त्यसै अनुसारका नियमावली, कार्यविधि बनाएर अगाडि बढेको छ ।’ जनअपेक्षा पूरा गर्ने गरी सेवाप्रवाह र विकासको काममा अझै द्रुतता दिन नसकिएको स्वीकार्दै उनले गत वर्षको अनुभवबाट पाठ सिकेर चालु आर्थिक वर्षमा विशेष सफलता हासिल गर्न लागिने धारणा राखे ।

प्रदेशले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न थप मेहनत गर्नुपर्ने बताउँदै उनले भने, ‘गत आवमा विकास निर्माणका काममा के कस्ता प्रगति भए रु वार्षिक बजेट तथा कार्यक्रमको कार्यन्वयन के कति प्रभावकारी भयो रु हामीले सम्पादन गरेका कामबाट प्रदेशको आर्थिक र सामाजिक विकासमा कति सुधार भयो रु त्यसको लेखा जोखाका अतिरिक्त कमिकमजोरी पहिचान गरी त्यसलाई चालु आर्थिक वर्षमा दोहोरिन नदिन आवश्यक तयारी गर्न समेत यो समीक्षा उपयोगी हुनेछ ।’

विकास निरन्तरको प्रक्रिया भएकाले यसमा आउने अवरोध छिचोल्दै जनचाहना बमोजिमका काम गर्नु सरकारको जिम्मेवारी भएको उनले बताए ।

गतवर्ष आफ्नो नेतृत्वमा गठबन्धन सरकार निर्माण भएदेखि बाढीपहिरोले निकै समस्या सिर्जना गर्नुका साथै कोभिड-१९ को प्रभाव भए पनि जोखिमको सामना गर्दै प्रदेश सरकारले संघ र स्थानीय तहसँगको सहकार्यमा महत्वपूर्ण काम सम्पादन गर्दै आएको उनको भनाइ छ । बैठकमा गतवर्षका कामको प्रगति समीक्षाका अतिरिक्त विकासमा झेल्नु परेका समस्या समेत पहिचान गरी त्यसको समाधानको उपाय पहिल्याइने बताउँदै उहाँले प्रदेशबाट समाधान गर्न सक्ने विषय हामीले समाधान गर्ने र नसक्ने विषय प्रधानमन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेश गरिने जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले गत आवमा प्रदेशको पुँजीगतखर्च ७८।०५ प्रतिशत रहे पनि यसलाई वृद्धि गर्ने पर्याप्त आधार रहेको बताए । प्रदेशले बनाएको आवधिक योजनामा आर्थिक वृद्धिदर करिब ६।१७ प्रतिशत पुग्ने अपेक्षा गरिएको बताउँदै मुख्यमन्त्रीले राजस्व परिचालनको क्षेत्रमा पनि प्रदेशको अवस्था सन्तोषजनक नै रहेको बताए । शिक्षा, स्वास्थ्य, सरसफाइ र समग्र मानव विकासको क्षेत्रमा प्रदेशका उपलब्धि राष्ट्रिय औसत भन्दामाथि रहेको उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस