ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौँको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।

‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू पनि सहभागी हुने उनले बताएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्रका गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।

आफूलाई समर्थकहरूबाट काठमाडौँ २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको शाहीले बताए ।  उनी जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ३ निवासी हुन् ।

शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको उनले बताए । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ ।

भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउँदाउठाउँदै चर्चामा आएका शाहीले आफूलाई सामाजिक अभियन्ताका रूपमा चिनाउँथे । उनले ‘नेपालका लागि नेपाली’ अभियानबाट गतिविधि गर्दै आएका थिए । बेलाबेला झमेलामा समेत पर्ने गरेका उनलाई अभियाने २०७६ मंसिर ११ मा निष्कासित गरेको थियो ।

२०७८ फागुन ६ गते उनी राप्रपामा प्रवेश गरेका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य छन् । राप्रपाका पाँच जना प्रवक्ता मध्येका एकजना शाही पनि हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस