अर्थसचिव भएर जान कोही पनि तयार भइरहेका छैनन् -ज्ञवाली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अर्थसचिव भएर जान कोही पनि तयार भइरहेका छैनन् -ज्ञवाली


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दाबी गरेका छन्।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शर्मामाथि गरिएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उनको मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भागाभागको स्थिति भएको जिकिर समेत गरे।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बेला अर्थ मन्त्रालयमा अर्थ सचिव नै भाग्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवालाई नपोलेको भनी प्रश्न गरे।

कुनै बेला अर्थ मन्त्रालयमा जानका लागि कर्मचारीहरू हानथाप गर्ने गरेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले अर्थमन्त्री शर्माकै गतिविधिका कारण त्यहाँ कर्मचारी जान नचाहेको बताए।

उनले भने, ‘अस्ति सार्वजनिक समाचार माध्यममा एउटा समाचार आएपछि मुलुकको राज्य प्रणाली, मुलुकको प्रशासन संयन्त्र र यो प्रशासन संयन्त्रलाई सरकारले कसरी चलाउन चाहिरहेको छ भन्नेबारेमा केही गम्भीर प्रश्नहरू उठे। त्यो सन्दर्भ थियो–अर्थ मन्त्रालयमा अर्थ सचिव भएर जान कोही पनि तयार भई रहेका छैनन्। र, अहिले राजस्व सचिवको रूपमा भूमिका निर्वाह गरिरहनु भएका सचिवलाई नै अर्थ सचिवको जिम्मेवारी पनि दिइएको छ। कुनै बेला अर्थ मन्त्रालयले सरकारको सबैभन्दा राम्रो मन्त्रालय मानिन्थ्यो। र, त्यहाँ सचिवहरू जानका लागि हानथाप जस्तै हुन्थ्यो। तर, आज यो सरकारको कतिपय क्रियाकलापहरूले त्यहाँ काम गरिरहेका सचिवहरू सरुवा माग्ने, अरू कर्मचारीहरू त्यहाँ बस्न नचाहने यो स्थिति सृजना भएको छ।

उनले जेठ १४ गते राती बजेट बनाउँदै गर्दा करका दरहरू हेरफेर गर्ने क्रममा जे जस्ता घटनाक्रमहरू भए त्यसका सहउत्पादनहरु आज देशले भोग्नु परिरहेकोसमेत बताए ।

उपमहासचिव ज्ञवालीले तत्कालीन अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अधुरो र अपुरो रहेकाले त्यसलाई मानेर जान नसकिने पनि स्पष्ट पारे।

Tags :
प्रतिक्रिया दिनुहोस