कोरोना महामारीमा ४१ प्रतिशत स्वास्थ्यकर्मीमा देखियो डिप्रेसन  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना महामारीमा ४१ प्रतिशत स्वास्थ्यकर्मीमा देखियो डिप्रेसन 


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेपालमा कोभिड-१९ महामारीका बेला खटिएका अधिकांश स्वास्थ्यकर्मीमा ‘डिप्रेसन’को लक्षण देखिएको सर्वेक्षणले देखाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० को अन्त्यमा गरिएको एक अध्ययनमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीमध्ये ४१.९ प्रतिशतमा डिप्रेसनको लक्षण देखिएको थियो ।

यस्तै, ३७.५ प्रतिशतमा एन्जाइटी, ३३.९ प्रतिशतमा निन्द्रासम्बन्धी समस्या देखिएको थियो ।

सन् २०२१ को मध्यमा स्वास्थ्य विज्ञानका विद्यार्थीमा गरिएको अर्को एक सर्वेक्षणमा ४३ प्रतिशतमा डिप्रेसन, ३३ प्रतिशतमा एन्जाइटी र २९ प्रतिशतमा निन्द्रासम्बन्धी समस्या देखिएको थियो ।

कोभिड–१९ संक्रमण भएका बिरामीहरूमा पनि १५ प्रतिशतमा एन्जाइटी र सात प्रतिशतमा डिप्रेसनको समस्या देखिएको थियो । यो सन् २०२० को मे र जुनमा विभिन्न अस्पतालका ज्वरो क्लिनिकहरूमा गरिएको सर्वेक्षण रिपोर्ट हो ।

महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा.खगेश्वर गेलालाका अनुसार एकपटक संक्रमण भएकाहरूमा अहिले पनि यस्ता समस्या पोस्ट कोभिड लक्षणका रूपमा देखा परिरहेका छन् । विशेषगरी एक वा एकभन्दा बढी दीर्घरोग भएका ज्येष्ठ नागरिकलगायत व्यक्तिमा पोस्ट कोभिडको समस्या देखिएको डा. गेलालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस