ग्लोबल आइएमई बैङ्कको छात्रालाई छात्रवृत्ति कार्यक्रम, कक्षा १२ सम्म निरन्तर « प्रशासन
Logo २४ श्रावण २०७९, मंगलबार
   

ग्लोबल आइएमई बैङ्कको छात्रालाई छात्रवृत्ति कार्यक्रम, कक्षा १२ सम्म निरन्तर


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ।

बैङ्कको ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत यस वर्ष बैङ्कले विभिन्न सामुदायिक(सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ। 

यी छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैङ्कले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ। समाजको विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिक रूपमा सबल हुनसमेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैङ्कले जनाएको छ। 

यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बिचमै विद्यालय छाड्न बाध्य छात्राहरूलाई न्यूनतम विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैङ्कको विश्वास छ। बैङ्कले मुलुकका सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।

बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले यस्ता विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।

देशका ७७ वटै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैङ्कले २६५ एटिएम, २७५ शाखा रहित बैङ्किङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ। 

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस