काठमाडौँ । १४९ बालबालिकालाई गैर कानुनी रूपमा धर्म सन्तान बनाएर विदेश पु¥याएको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेख अनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म २४ बालबालिका ७ देशमा धर्म सन्तानका रूपमा गएका छन् ।
अमेरिका, फ्रान्स, नर्वे, डेनमार्क, क्यानडा, स्वीजरल्याण्ड र बेल्जियममा ती बालबालिका धर्म सन्तानका रूपमा गएका महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । महालेखापरीक्षकको कार्यालयले केही दिनअघि सार्वजनिक गरेको आफ्नो ५९ औँ वार्षिक प्रतिवेदनमा भनेको छ, ‘अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र उक्त ७ देशले नेदरल्याण्ड स्थित अन्तर सरकारी निकाय ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल’लाई बुझाएको सूचीमा १७३ धर्म सन्तान नेपालबाट उक्त देशमा लगेको देखिन्छ । उक्त तथ्याङ्कहरूको आधारमा १४९ बालबालिका सरकारी अभिलेखमा नराखी धर्म सन्तान बनाएर गैर कानुनी रूपमा विदेश पुर्याएको अवस्था छ ।’ प्रतिवेदन अनुसार मन्त्रालयले ११ देशमा धर्म सन्तानको रूपमा लगेका बालबालिकाको तथ्याङ्क समेत राखेको छैन ।
यो वर्षको कार्यक्रममा धर्मपुत्र धर्मपुत्रीको तथ्याङ्क अभिलेखांकन गर्न रु ८ लाख बजेट विनियोजन भएकोमा खर्च नभएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१० मा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले अन्तर्देशीय धर्मपुत्र, धर्मपुत्री व्यवस्थापन समिति गठन गरी १८ देशमा धर्मपुत्र, धर्मपुत्री पठाउन सक्ने व्यवस्था गरेको देखिन्छ । मुलुकी देवानी संहिता, २०७४ लागू भएपछि विदेशी नागरिकको लागि धर्मपुत्री, धर्मपुत्र ग्रहणमा प्रतिबन्ध लगाएको छ ।







