निर्वाचन घोषणाको अन्तिम तयारीमा सरकार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्वाचन घोषणाको अन्तिम तयारीमा सरकार


१९ श्रावण २०७९, बिहिबार


काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणाको अन्तिम तयारी गरेको छ । सत्तागठबन्धनका शीर्ष नेताहरूले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् । 

कुनै नयाँ राजनीतिक घटनाक्रम नभए बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति घोषणा गर्ने सरकारको तयारी छ ।  

निर्वाचन आयोगले गरेको सिफारिसअनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको हो । प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेको काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

प्रधानमन्त्री देउवाले बुधबार सत्तागठबन्धनका शीर्ष नेताको बैठकमा निर्वाचन घोषणाबारे राय लिएका छन् । शीर्ष नेताले ४ मंंसिरका लागि मिति घोषणा गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले पनि २ वा ४ मंसिरमा निर्वाचन गर्न उत्तम हुने सुझाएका छन् । 

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका शीर्ष नेताहरूबिच निर्वाचनको मिति घोषणालगायतका विषयमा छलफल भएको र सरकारले चाँडै नै निर्णय गर्ने बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले मंसिर पहिलो साताका लागि निर्वाचन तोक्नेबारे छलफल भएको र मिति घोषणाबारे सरकारले नै निर्णय लिने बताए । 

जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले ४ मंसिरमा निर्वाचन घोषणा गर्न दलहरू सकारात्मक रहेको जानकारी दिइन् ।

सरकारका एक मन्त्रीले बिहीबार नियमित बैठक बस्न लागेको र निर्वाचनको मिति घोषणाको सम्भावना रहेको बताए ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि बिहीबार निर्वाचन घोषणा हुन सक्ने सङ्केत गरे ।

आयोगले २ मंसिरमा निर्वाचन गर्ने गरी त्यसको एक सय २० दिनअगाडि नै मिति तोक्न सरकारलाई सुझाव दिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस