गाली खान तयार छौँ, तर फोहोरका विषयमा हतारिएर निर्णय लिँदैनौँ : मेयर बालेन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गाली खान तयार छौँ, तर फोहोरका विषयमा हतारिएर निर्णय लिँदैनौँ : मेयर बालेन


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूहरु तत्काल नदेखिने तर दिगो प्रभाव पर्ने काममा जुटिरहेको बताएका छन् । काठमाडौँको फोहोरका सन्दर्भमा पनि दिगो समाधानका लागि धैर्यता लिइरहेको उनको भनाइ छ ।

पोखरामा आयोजित महानगरका मेयर तथा उपमेयरको सम्मेलनमा बोल्दै साहले यस्तो धारणा राखेका हुन् ।

उनले अन्य महानगरले काठमाडौँ महानगरबाट सिक्नुपर्ने कुरा भन्दा नसिक्नुपर्ने कुरा धेरै रहेको बताए । काठमाडौँले गरेका गल्ती नदोहोर्‍याउन अन्य महानगरलाई उनले आग्रह गरे ।

सम्मेलनमा सम्बोधन गर्दै साहले महानगरले अहिले फोहोरको समस्या, पानीको समस्या कंकिटको समस्या भोगिरहेको उल्लेख गरे । अरु महानगरमा काठमाडौँको जस्तो बेहाल अवस्था नआओस् भनेर सचेत हुनुपर्ने उनको भनाइ छ ।

साहले भने ‘हाम्रोमा बिजुली जति पनि छ । बायोग्यासको प्रभावकारिता छैन । त्यसैले मल उत्पादनलाई नै सबैभन्दा उपयुक्त विकल्प सोचिएको हो । यसमा हामी हतार गर्ने पक्षमा छैनौँ ।’

उनले थपे, ‘हामीले गाली खाइखाइ फोहोर व्यवस्थापनका लागि किन समय कुरेको भन्दा हामीलाई तुरुन्तै हुने तर दीर्घकालीन नहुने व्यवस्था चाहिएको छैन । यस्तो चीज चाहिएको छ कि भोलि ३०र५० वर्ष पछाडि पनि हाम्रो छोराछोरीले हामीलाई बाउबाजेले देश बिगारे भनेर गाली नगरुन् ।’

सामाजिक सञ्जाल र मिडियामा नराम्रो कुराहरू आउने र राजनीतिक दबाबमा निर्णय लिने प्रवृत्ति रहेको उनले बताए ।

‘अहिले पनि तुरुन्तै दुई पाँच अर्ब खर्च गरेर मेसिन ल्याउने हो भने फोहोर व्यवस्थापन गर्न सकिन्छ । तर, त्यो दिगो समाधान होइन ।’

काठमाडौँ महानगरपालिकाबाट सिक्न सकिने एउटा काम भएको उनको भनाइ छ ।

‘काठमाडौँ महानगरबाट सिक्नुपर्ने भनेको एउटा सानो काम छ । हामीले हरेक महिनाको सोमबार काठमाडौँ महानगरपालिका, सडक विभाग, विद्युत् प्राधिकरण, बागमती सभ्यतालगायत जति पनि निकाय छन्, उहाँहरू सबैलाई राखेर मिटिङ गर्छौँ । सहकार्य गर्छौैं । उहाँहरुको वार्षिक बजेट के–के छ भन्ने हेरेर नदोहोरिने गरी काम गर्छौँ ।’

एक वर्ष नदेखिने काम गरेर महानगरवासीको गाली खान तयार रहेको उनले बताए ।

मेयर साहले भने, ‘अहिले महानगरले गरेको काम तत्काल नदेखिए पनि नदेखियोस्, तर ५० वर्ष पछिसम्म टिकोस् । हाम्रो बुझाइ के छ भने काम बरु नदेखियोस्, तर सँधैका लागि होस् । हामी नआत्तिईकन गर्छौँ । हामी एक वर्षसम्म महानगरबासीबाट गाली खान तयार छौँ । तर हामीले महानगर राजधानीलाई जोगाउनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस