पाँचपोखरीमा यस वर्ष जनै पूर्णिमामा मेला लाग्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाँचपोखरीमा यस वर्ष जनै पूर्णिमामा मेला लाग्ने


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनै पूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ । 

पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला लागेको थिएन । यसपालि भने जनैपूर्णिमा मेला लाग्ने पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

यस वर्षको जनैपूर्णिमा यही साउन २७ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना-ठूलो गरी पाँचवटा ताल रहेका छन् । 

संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी रहेका छन् । पाँचपोखरीमा एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ । मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यमा पाँचपोखरीलाई पनि छनोट गरेको छ । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन् । 

विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् ।  पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र विवाह पश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस