सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लाग्यो : खनाल « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लाग्यो : खनाल


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताए ।

आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले चिया उत्पादनको विषयलाई बेवास्ता गरेको भन्दै सरकार कमिसनखोरी अर्थतन्त्र विकासमा लागेको बताएका हुन् ।

उनले देशमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे ।

सांसद खनालले चियाबारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए ।

उनले राज्यले ध्यान नदिँदा चिया उत्पादकहरूले थुप्रै समस्या भोग्नुपरेको बताउँदै तत्काल चियाका लागि अक्सन सेन्टर खोल्नुपर्ने बताए ।

सांसद खनालले सिङ्गो नेपाललाई चिया क्षेत्रमा रूपान्तरित गर्न सकिने उल्लेख गर्दै चिया उत्पादकलाई उचित मूल्य दिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुनेसमेत बताए ।

उनले चियाबारे सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘इलाममा चिया उत्पादन विस्तार हुँदै गएको छस देशमा पनि चिया फैलिँदै गएको छस त्यतातिर सरकारले बिल्कुलै बेवास्ता गरिरहेको छ । यस वर्षको नीति कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान त्यसमा जाला कि भन्ने अपेक्षा गरेको थिएँ । तर प्रधानमन्त्रीले अघि सारेको नीति कार्यक्रम सम्माननीय राष्ट्रपतिको मुखबाट आयो तर चियाको बारेमा कतै उच्चारण हुन सकेन ।’

सरकारको बजेटमा कतै पनि चियाको चर्चा नहुनु दुःखद भएको उनले बताए । सरकारको ध्यान विकासमा केन्द्रित भए पनि दिनुपर्ने ठाउँमा ध्यान दिन नसकेको उनले बताए । ‘राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुपर्ने स्थिति बनेको छ । सिङ्गो नेपाललाई चिया क्षेत्रमा रूपान्तरित गर्न सकिन्छ । तर हामीले अध्ययन गरेर योजना बनाउने काम गर्न सकेका छैनौँ‚’ उनले भने ।

उनले आर्थिक सङ्कटतर्फ देश गइरहेको भन्दै चिन्ता व्यक्त गरे । सांसद खनालले इलाममा चियाको सङ्ग्रहालय बनाउन पनि माग गरे । सांसद खनालले चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस