बाढीपहिरोले सिन्धुपाल्चोकका सडक क्षतविक्षत, त्रासले स्थानीयवासी रातभर घर बाहिरै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाढीपहिरोले सिन्धुपाल्चोकका सडक क्षतविक्षत, त्रासले स्थानीयवासी रातभर घर बाहिरै


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डका ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले बाटाहरू अवरुद्ध भए पनि जिल्लामा मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको जानकारी दिए ।

गएराति भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । सो सूचना अनुसार प्रभावित क्षेत्रका बासिन्दा रातभर घर बाहिर बस्न बाध्य भएका थिए ।

गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोटे र आसपासमा भारी वर्षा मापन भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस