असार लागेसँगै ९४ अर्बले बढ्यो बैङ्कको निक्षेप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

असार लागेसँगै ९४ अर्बले बढ्यो बैङ्कको निक्षेप


२८ असार २०७९, मंगलबार


काठमाडौँ । तरलताको अभाव रहेको भनिएका बैङ्क तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ ।

वाणिज्य बैङ्कको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ । गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैङ्कको निक्षेप सङ्कलन ९४ अर्बले बढेको पाइएको छ ।

नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैङ्कको कूल निक्षेप ४४ खर्ब रहेकामा असार २४ गतेसम्म ४४ खर्ब ९४ अर्ब पुगेको हो । पछिल्लो समय निरन्तररुपमा घटेको निक्षेप असार महिना लागेसँगै केही सुधार देखिएको छ ।

सङ्घको तथ्याङ्कअनुसार असार पहिलो साता वाणिज्य बैङ्कको निक्षेप सङ्कलन (३ गते) ४३ खर्ब ९४ अर्ब, असार दोस्रो साता (१० गते) ४३ खर्ब ९८ अर्ब र असार तेस्रो साता (१७ गते) ४४ खर्ब ३२ अर्ब रहेको थियो ।

असार महिनामा निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । गत जेठ महिनाको तुलनामा असारको २४ गतेसम्म १९ अर्बले कर्जा लगानी घटेको हो । गत जेठ मसान्तसम्म कूल ४१ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका बैङ्कले असार चौथो सातासम्म कूल ४१ खर्ब ७४ अर्ब मात्रै कर्जा लगानी गरेका हुन् ।

यस्तै, एक सातामा वाणिज्य बैङ्कको कर्जामा दश अर्ब गिरावट देखिएको छ । असार १७ गतेसम्म ४१ खर्ब ८४ अर्ब कर्जा लगानी रहेकोमा असार २४ गतेसम्म ४१ खर्ब ७४ अर्ब पुगेको हो ।

यस्तै, वाणिज्य बैङ्कको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैङ्कको औसत सीडी रेसियो ८८.५७ प्रतिशत पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस