काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सरकारका लागि केपी ओली नेतृत्वको सरकारको शैली पछ्याउने छुट नरहेको बताएका छन् ।
वर्तमान सरकारले मूल्यवृद्धि रोक्नु पर्ने भन्दै नेता पौडेलले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई सचेत गराएका छन् ।
मंगलबार केन्द्रीय कार्यसमिति बैठकपछि नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । यस्तै भ्रष्टाचार घटाउन अख्तियार दूरूपयोग अनुसन्धान आयोगलाई सक्रिय बनाउनु पर्ने उनको भनाइ थियो । यस क्रममा पौडेलले राष्ट्रिय समस्या समाधान गर्न सरकार सजग हुनु पर्ने पनि बताएका थिए ।
नेता पौडेलले भनेका थिए, ‘केपी ओलीले संविधान भत्काएका थिए। त्यसलाई ट्र्याकमा ल्याउनुपर्छ। संवैधानिक परिषद् सम्बन्धी विधयेक फिर्ता हुनुपर्छ। यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट छैन। त्यस्तो हामी हुन दिँदैनौं ।’
यसैबीच नेता पदडेलले अहिलेको सन्दर्भमा गठबन्धन आवश्यक रहेको पनि बताएका थिए । काँग्रेस बैठकमा कतिपय नेताहरूले गठबन्धन तोड्नुपर्ने माग गरिरहेका बेला पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले अहिले सिद्धान्तको कुरा गर्ने बेला नभएर राष्ट्रिय आवश्यकतालाई ध्यान दिनुपर्ने जनाएका थिए । ‘स्थायित्वक चाहाने हो भने गठबन्धन आवश्यक छ। काँग्रेस र कम्युनिस्ट भन्ने बेला हैन यो । यो त स्थायित्व दिने कुरा हो । त्यसकारण गठबन्धन गरौं । मापदण्डका बारेमा छलफल गरौंला ।’