काँग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा ! « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काँग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा !


२६ असार २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने सहमहामन्त्री जीवन परियारले बताए।

काँग्रेसले भ्रातृ संस्थाका विधानबारे केही समयदेखि पदाधिकारी बैठकमा छलफल गर्दै आएको छ।

नेता एनपी साउदको संयोजकत्वमा काँग्रेसले भातृ तथा शुभेच्छुक संस्थाका विधानबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। उक्त समितिले पार्टीमा प्रतिवेदन बुझाइसकेको छ। यो प्रतिवेदनमा केन्द्रित रहेर अन्तिम रूप दिनका लागि पदाधिकारी बैठक बस्ने भएको हो।
काँग्रेसका अधिकांश भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन्। नेविसंघलगायत चार भ्रातृ संस्थामा केन्द्रीय समितिले दिएको अधिकारअनुसार सभापति शेरबहादुर देउवाले अध्यक्ष मात्रै तोकेका छन्।

केही नयाँ संस्था तथा शुभेच्छुकले भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता दिनुपर्ने माग गरिरहेका छन्। काँग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक राखेको छ। उक्त बैठकमा भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्थाबारे छलफल हुनेछ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने गरेको छ। यसअघि पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित भएका थिएनन्।

काँग्रेसमा अहिले १३ भ्रातृ र १८ शुभेच्छुक संस्था छ। भ्रातृ संस्थामध्ये अधिकांश महाधिवेशन हुन नसकेर तदर्थ समितिका भरमा छन्। यस्तै काँग्रेसले पाँच भ्रातृ तथा केही शुभेच्छुक संस्था थप गर्ने गृहकार्य पनि गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस