भ्रष्टाचार सहँदैनौँ र भ्रष्टाचारी कसैलाई छोड्दैनौँ : रबी लामिछाने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भ्रष्टाचार सहँदैनौँ र भ्रष्टाचारी कसैलाई छोड्दैनौँ : रबी लामिछाने


२५ असार २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले भ्रष्टाचार नसहने र भ्रष्टाचारी कसैलाई नछाड्ने बताएका छन् ।

शनिवार चितवनमा गरिएको भेलालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारमा जोडिएका नेता, कर्मचारी, व्यापारी सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका हुन् ।

‘भ्रष्टाचारी सम्पूर्ण चल, अचल सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिनेछ । मुद्दा छिटो छरितो फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गरिनेछ । वर्षौँदेखि थन्किएर बसेका मुद्दाको छिटो फैसलाको वातावरण बनाइनेछ, लैङ्गिक अल्पसङ्ख्यक, बालिका, महिला बलात्कारका मुद्दा छिटो फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गरिनेछ,’ उनले भने ।

यस्तै जबरजस्ती करकापमा पारेर धर्म परिवर्तन गराउनेहरूलाई हदैसम्मको कारबाही गर्ने बताए । सनातन वैदिक संस्कृतिलाई प्रवर्द्धन गर्ने, विदेशमा फसेका नेपालीको उद्धार गर्नका लागि र्‍यापिड एक्सन टिम बनाउने बताए । मजदुर किसानका गुनासा सुन्न हेल्प डेस्क बनाउने र उनीहरूको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने उनले बताए ।

स्वास्थ्य उपचार गर्दा सुरुमै पैसा नमाग्ने, उपचारपछि पैसा माग्ने नीति बनाउने, सक्नेले पैसा तिर्ने र नसक्नेको उपचारको पैसा सरकारले तिरिदिने, सबै नागरिकको स्वास्थ्य बिमा गर्ने उनले बताए । यस्तै साना स्वरोजगार व्यवसायीलाई विस्थापन नगरी व्यवस्थापन गर्ने बताए । विपत्मा परेका नागरिकलाई सहुलियतमा ऋण दिने व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।

सभापति लामिछानेले शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने बताउँदै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने बताएका छन् । पाठ्यपुस्तक र विद्यालयको कक्षा कोठा अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उनले उल्लेख गरे । प्राविधिक, नैतिक, ज्ञानमूलक, रोजगारमुखी र देशै भरी एउटै मापदण्डका शिक्षा प्रणालीको व्यवस्था गर्ने र योग्य शिक्षकलाई राज्यबाट सबैभन्दा बढी तलब सुविधा दिइने उनले बताए ।

उनले भने–‘यो देशमा सबैभन्दा धेरै तलब कसैको हुनेछ भने शिक्षकको हुनेछ । राष्ट्रको सबैभन्दा लगानी केहीमा गरिने छ भने त्यो शिक्षामा लगानी गरिनेछ ।’

यस्तै अपराध अनुसन्धान छिटो गर्नका लागि प्रत्येक प्रहरी चौकीमा भिडियो रेकर्ड गरेर उजुरी लिने व्यवस्था गर्ने र प्रहरी अधिकारीले कुनै राजनीतिक नेता वा व्यापारीलाई भेटेमा स्पष्टीकरण सोधिने उनले बताएका छन् ।

त्यस्तै अपराध अनुसन्धान गरेको आधारमा प्रहरीको मूल्याङ्कन र प्रोत्साहन गरिने, मोबाइलबाटै ठाउँको ठाउँ घटनाको उजुरी दर्ता गर्ने व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ ।

सरकारी कार्यालयमा लामो लाइन बस्नु नपर्ने व्यवस्था गर्ने, बिचौलियाबाट सरकारी कार्यालयलाई मुक्त बनाउने, काममा ढिलासुस्ती गरेको उजुरी आएमा ठाउँको ठाउँ कर्मचारीलाई कारबाही गर्ने बताए । सरकारी कार्यालय एक द्वार प्रणाली, अनलाइन प्रणाली, क्यासलेस प्रणाली तथा होम डेलिभरी प्रणालीमा लैजाने प्रतिबद्धता जनाए । यस्तै घरमा छोरी जन्मने बित्तिकै बैङ्क खाता खोलिदिने र १८ वर्षको उमेरसम्म निश्चित रकम राखिदिने उनको भनाई छ । पार्टी दर्तापछि लामिछानेले चितवनमा पार्टीको पहिलो भेला गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस