‘सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्छ’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्छ’


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । नेपाली भाषा तथा साहित्यको संरक्षणका लागि सवारी साधनमा राखिने नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्ने बताइएको छ ।

नेपाल शिक्षा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सवारी साधनमा राखिने नम्बर प्लेटको अङ्क र अक्षर देव नागरिकमा लेखिनुपर्ने विषयक विचार सभा’ बोल्ने वक्ताहरूले नेपाली भाषाको संरक्षणका लागि नेपालमा दर्ता भएका सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा राख्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्रा.डा. हेमनाथ पौडेलले सवारी साधनमा राखिने नम्बर प्लेट नेपाली भाषामा हुनुपर्छ भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले लामो समयदेखि आवाज उठाउँदै आएको बताए । ‘राष्ट्रियता, संस्कृति र भाषासँग जोडिएको जल्दो बल्दो समस्याप्रति नेपाल प्रज्ञा प्रतिष्ठान गम्भीर रहेको छ’, उनले भने ।

प्रा.डा. पौडेलले नेपाली भाषा, संस्कृतिको संरक्षणको पक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानले काम गर्दै आएको बताए । उनले नम्बर प्लेट अङ्ग्रेजीमा राखे पनि नेपालीमा पनि राख्नुपर्ने स्पष्ट पारे । वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठले भाषाजस्तो संवेदनशील विषय संवैधानिक इजलासमा लगेर फैसला गर्नु गम्भीर विषय भएको बताए ।

‘इम्बोस्ड नम्बर प्लेटसम्बन्धी फैसला कानुन र संविधान विपरीत छ, उक्त निर्णय भाषालाई सिध्याउने प्रयास हो’, उनले भने । उनले उक्त फैसला कार्यान्वयन भए नेपाली भाषा सकिने बताए । वरिष्ठ अधिवक्ता श्रेष्ठले इम्बोड नम्बर प्लेटसम्बन्धी संवैधानिक इजालासले गरेको फैसला कानुन क्षेत्रमा गहिरो अध्ययनको क्षेत्र बनेको बताए ।

अधिवक्ताद्वय विनोद कार्की र रामेश्वर राउतले संविधानले नेपाली भाषालाई नेपालको कामकाजको भाषा हुनेछ भनेर स्पष्ट उल्लेख गरेकाले नेपाली सवारीसाधनमा पनि नेपाली भाषामा लेखिएको नम्बर प्लेट उल्लेख गर्नुपर्ने बताए ।

उनीहरूले सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्णय गरे पनि जनआवाजले त्यसलाई नमाने फिर्ता हुने तर्क गरे । नेपाल शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा, भाषाविद् शान्त बस्नेतलगायतले नेपाली भाषाको संरक्षण गर्नका लागि फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । उनीहरूले संविधान विपरीत गरिएका निर्णय मान्य नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस