आइतबारको बिदाले फेरि धकेलियो प्रहरी महानिरीक्षक विरुद्धको मुद्दाको सुनुवाइ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आइतबारको बिदाले फेरि धकेलियो प्रहरी महानिरीक्षक विरुद्धको मुद्दाको सुनुवाइ


२३ असार २०७९, बिहिबार


काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको पर्व इदका कारण असार २६ गते सरकारले बिदा दिने घोषणा गरेपछि प्रहरी महानिरीक्षक विरुद्धको मुद्दाको सुनुवाइ फेरि धकेलिएको छ ।

यसअघि आइतबारका लागि पेसी तोकिएको भए पनि आइतबार बिदा परेपछि उक्त मुद्दामाथिको सुनुवाइ फेरि धकेलिने भएको छ । सरकारले आफूभन्दा कनिष्ठ एआइजी धीरजप्रताप सिंहलाई आइजिपीमा नियुक्ति गरेको भन्दै एआइजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेपछि लामो समयदेखि उक्त मुद्दाको सुनुवाइ भइरहेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दा सातामा एक दिन सुनुवाइ हुने गरेको थियो । असार १९ गते पेसीमा चढेको उक्त मुद्दाको सुनुवाइपछि असार २६ गते आइतबारका लागि पेसी तोकिएको थियो । तर आइतबार सार्वजनिक बिदा परेपछि उक्त मुद्दाको पेसी कहिले पर्ने यो टुङ्गो लागेको छैन ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार हेर्दाहेर्दैमा रहेको कारण कामु प्रधानन्यायाधीश र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइका लागि अर्को मिति दिएपछि मात्रै सुनुवाइको मिति तोकिने छ । उनीहरूले सुनुवाइका लागि मिति नतोकेसम्म उक्त मुद्दाको पेसी अन्योलमै रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस