काठमाडौँ । स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समितिको बैठक सुरु भएको हो ।
बैठकले पदाधिकारीको पनि टुङ्गो लगाउने बताइएको छ । असार १९ गते सुरु भएको केन्द्रीय कमिटी बैठक दुई दिन स्थगित भएर आज (बिहीबार) बस्न लागेको हो ।
माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ ।
अन्य पदमा खासै विवाद नदेखिए पनि महासचिवमा भने दाबेदार बढी भएकाले मिलाउन समस्या रहेको बताइएको छ । महासचिवका लागि जनार्दन शर्मा र वर्षमान पुनको दाबी रहेको छ ।
त्यस्तै महासचिवमा पूर्व सभामुखसमेत रहेका कृष्णबहादुर महराको समेत दाबी रहेको बताइएको छ । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठले पाउने सम्भावना रहेको छ ।
माओवादीले गत पुस महिनामा ८औँ महाधिवेशन आयोजना गरे पनि केन्द्रीय समिति, स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारी टुङ्गो लगाउन सकेको थिएन ।