२४ घन्टाभित्र बेलायतमा जोनसन सरकारका ४० बढीले दिए राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घन्टाभित्र बेलायतमा जोनसन सरकारका ४० बढीले दिए राजीनामा


२३ असार २०७९, बिहिबार


काठमाडौँ । बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको सरकारमा रहेका विभिन्न सांसद तथा मन्त्रीहरूले धमाधम राजीनामा दिन थालेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार हिजो (बुधबार) सम्म अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्रीहरू र मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका ४० जना बढी सांसदले राजीनामा दिएका छन् ।

जोनसनले देशलाई शासन गर्न सक्छन् भन्ने विश्वास नभएकाले राजीनामा दिएको उनीहरूले बताएका छन् ।

आफ्नै मन्त्रिपरिषदमा भएको यो ‘विद्रोह’ले जोनसनको पद धरापमा परेको छ ।

उनको कन्जरभेटिभ्स पार्टीभित्र र बाहिरबाट जोनसनको राजीनामा माग गरिएको छ ।

द गार्डियनका अनुसार जोनसन भने जस्तोसुकै परिस्थिति आए पनि अन्तिमसम्म लड्ने रणनीतिमा छन् ।

गृहमन्त्री प्रीति पटेललगायतले उनलाई अनौपचारिक रूपमा भेटेर राजीनामा दिन सुझाए पनि जोनसन त्यसका लागि तयार भएका छैनन् ।

दुई वर्षअघि भएको चुनावमा लाखौँ मतदाताले आफूलाई विश्वास गरेको उल्लेख गर्दै जोनसनले लुसुक्क सत्ता नछोड्ने बताएका छन् ।

पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्त्वपूर्ण नियुक्ति दिएपछि उनको मन्त्रिपरिषदमा मतभेद चुलिएको हो ।

त्यसअघि पनि जोनसन बेला बेलामा विवादमा आइरहेका थिए । कोरोनाभाइरसको महामारी सुरु भएपछि देशलाई लकडाउनमा राखेर आफूले भने प्रधानमन्त्री निवासमा भोज गरेको सार्वजनिक भएको थियो ।

उक्त विषयले बेलायती राजनीतिमा तरङ्ग ल्याएको थियो र छानबिन पनि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस