भक्तपुर र हेटौँडामा पनि देखियो हैजा, संक्रमितको संख्या २१ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भक्तपुर र हेटौँडामा पनि देखियो हैजा, संक्रमितको संख्या २१ पुग्यो


२२ असार २०७९, बुधबार


काठमाडौँ। चाँगुनारायण नगरपालिका वडा नम्बर-४ दुवाकोट र हेटौँडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।

‘दुवाकोटका संक्रमितको टेकु र हेटौँडाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेको छ,’ महाशाखाका निर्देशक डा. चुम्मनलाल दासले भने ।

काठमाडौँ उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , कीर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।

काठमाडौँ उपत्यकाका धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानीमा ईकोलाई र कोलिफर्म देखिएको छ । ईकोलाई मानिसको दिसामा हुने जीवाणु हो । काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा आजभोलि झाडापखालाका बिरामी बढिरहेका छन् ।

गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस