अब परिवर्तनकै लागि कुनै आन्दोलन आवश्यक छैन : सुवास नेम्वाङ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अब परिवर्तनकै लागि कुनै आन्दोलन आवश्यक छैन : सुवास नेम्वाङ


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालमा अब परिवर्तनकै लागि कुनै आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन् ।

उनले परिवर्तन चाहनेहरूले जनताको मन जितेर सहजैरुपमा मुलुकमा जुनसुकै खालको परिवर्तन पनि ल्याउन सक्ने बताए ।

नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै नेम्वाङले नयाँ संविधान जारी भएपछि जनता सबैभन्दा शक्तिशाली भएको र जनताले चाहे संसद्‌बाटै जस्तोसुकै खालको परिवर्तन ल्याउन सक्ने बताए ।

उनले नेपालमा अब पहिलेको जस्तो पाँच–सात वर्षमै व्यवस्था परिवर्तन हुन्छ, अस्थिरता छ भनेर भन्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

‘अब कसैले पनि परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन । जो परिवर्तन चाहनुहुन्छ, जनताको मन जित्नुस्, जनताको आशीर्वाद लिनुस् । संसदमा पुगेर संविधान संशोधन गरेर जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ,’ नेम्वाङले अघि भने, ‘अब व्यक्ति मन पर्दैन, व्यक्ति फेर्नुस् । पार्टी मन पर्दैन भने नयाँ पार्टी खोल्नुस् । तर व्यवस्था परिवर्तनका लागि, संविधान फेर्नका लागि कसैले पनि आन्दोलन गर्नुपर्दैन । संविधानले सहजै परिवर्तन गर्न सक्ने अधिकार दिएको छ । संविधानले जनतालाई सर्वशक्तिशाली बनाएको छ ।’

उनले नेपालको संविधान जारी भएको छ वर्षमै सर्वस्वीकार्य भएको बताए । ‘भारतले बनाएको संविधान सर्वस्वीकार्य हुन दश वर्ष लागेको थियो । दक्षिण भारतले संविधान बनेको दश वर्षपछि मात्रै संविधान स्वीकार गरेको थियो, तर हामी कहाँ छ वर्षमै संविधान सर्वस्वीकार्य भइसकेको छ,’ उनले भने ।

उनले अहिलेको संविधान जनताको चाहना बमोजिमको संविधान भएकाले पनि यसको कार्यान्वयन महत्त्वपूर्ण रहेको बताए । ‘यो संविधान पहिलो पटक जनता कानुनको स्रोत भएर बनाइएको संविधान हो । पहिले पहिले पाँच–दश वर्षमा व्यवस्था परिवर्तन हुन्छ भनेर भनिन्थ्यो । अब त्यस्तो अपेक्षा नगरे हुन्छ । नेपालमा अब त्यस्तो हुनेवाला छैन, किनकि यो नेपाली जनताको चाहना बमोजिम बनेको संविधान हो,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस