काठमाडौँका सार्वजनिक स्थानमा भिख माग्न निषेध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँका सार्वजनिक स्थानमा भिख माग्न निषेध


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरभित्रका सार्वजनिक स्थानमा भिख माग्न निषेध गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो ।

साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन आग्रह गरेको छ ।

काठमाडौँ महानगरपालिका नगर सभा ११औँ अधिवेशनबाट सार्वजनिक स्थानमा भिख माग्न नपाइने स्वीकृत नीति समेतका आधारमा यो सूचना जारी गरिएको महानगरले जनाएको छ ।

तर साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने भने पाइने सूचनामा जनाइएको छ ।

असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन हुँदै आएकोले आश्रमको सेवा आवश्यक परेमा काठमाडौँ महानगरपालिका वा मानव सेवा आश्रममा सम्पर्क गर्न आग्रह गरेको छ ।

यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नु तथा नगराउन आग्रह गरिएको छ ।

सूचनाको उल्लङ्घन गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरले सूचनामामार्फत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस