देशभर सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशभर सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन


१४ असार २०७९, मंगलबार


काठमाडौँ । मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरी बलले देशैभरिका प्रहरी युनिटलाई २४ सै घण्टा तयारी अवस्थामा खटाएको छ । देशभरि भारी वर्षा बढेसँगै बाढीपहिरो तथा डुबानको जोखिम भएकाले उद्धारका लागि सशस्त्रले विपत्सम्बन्धी तालिमप्राप्त प्रहरीलाई आवश्यक उद्धार सामग्रीसहित खटाएको हो ।

देशका विभिन्न ६ स्थानमा गोताखोर तालिमप्राप्त प्रहरी खटाइएको छ । जल उत्पन्न प्रकोपको समयमा उद्धार कार्यमा परिचालन गर्न सहज र छिटो बनाउन विभिन्न ठाउँमा गोताखोर खटाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले बताए ।

प्रदेश १ को सुनसरी, बागमती प्रदेशको कुरिनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको शमशेरगन्ज र सुदूरपश्चिम प्रदेशको कैलालीमा गरी ६ स्थानमा गोताखोरको आवश्यक उद्धार सामग्रीसहित तयारी हालतमा राखिएको उनले जानकारी दिए ।

यसबाहेक उपत्यकाका दुईवटा, कुरिनटार तालिम केन्द्र र अन्य सातैवटा प्रदेशमा तालिमप्राप्त विशेष टोली तयारी अवस्थामा खटाइएको छ । सशस्त्रले प्रत्येक बाहिनीमा कम्तीमा एक प्लाटुन तथा सानो युनिटमा सेक्सन र ठूलो युनिटमा प्लाटुनस्तरमा टोली विपत् व्यवस्थापनमा मात्र खटिने गरी राखिएको छ ।

सशस्त्र प्रहरीले विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरन्तर रूपमा विपत् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको छ, जहाँ हालसम्म दुई हजार ३४ जना सशस्त्र प्रहरी कर्मचारीलाई विशिष्टीकृत विपत् व्यवस्थापन तालिम प्रदान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस