१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क


१३ असार २०७९, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो ।

बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्कासित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्ने केन्द्रीय बैङ्कले जनाएको छ ।

ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुने छ भने यसको ब्याज अर्धवार्षिक रुपमा हुने र ब्याजमा आयकर लाग्ने सूचनामा उल्लेख छ ।

खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउने छन् ।

दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुने ऋणपत्र खरिदको बोलकबोल मङ्गलबार हुनेछ । यस्तो ऋणपत्र धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिने छ ।

२६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले रु २६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैङ्कले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैङ्कले २८ दिन अवधिको रु दुई अर्ब, ९१ दिन अवधिको रु नौ अर्ब १० करोड, १८२ दिन अवधिको रु १० अर्ब र ३६४ दिन अवधिको रु पाँच अर्ब गरी कूल रु २६ अर्ब १० करोडको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।

बैङ्कले आइतबार जारी गरेको सूचनाअनुसार २८ दिने ट्रेजरी आगामी साउन १० गते, ९१ दिने ट्रेजरी आगामी असोज ११ गते, १८२ दिने ट्रेजरी आगामी पुस १२ गते र ३६४ दिने ट्रेजरी २०८० असार १२ मा परिपक्व हुनेछ ।

यसअघि यही असार ६ मा बैङ्कले रु २५ अर्ब ५३ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो । यसको बोलकबोल अनलाइनमार्फत आजै हुने बैङ्कले जनाएको छ ।

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैङ्क, अन्य वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैङ्कले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

तरलता अभाव कायमै, ट्रेजरी बिलको ब्याजदर उच्च

मुद्रा बजारमा देखिएको तरलता व्यवस्थापनमा चुनौती कायमै छ । एक वर्ष अगाडि तीन प्रतिशत आसपास रहेको ट्रेजरीको ब्याज हाल दोहोरो अङ्कमा पुगेको देखिन्छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अहिले २८ दिनको ट्रेजरी बिलको ब्याजदर ८.१७ प्रतिशत छ ।

यस्तै ९१ दिनको १०.४८ प्रतिशत, १८२ दिन अवधिको १०.५० प्रतिशत तथा ३६४ दिन अवधिको ट्रेजरीको १०.५२ प्रतिशत ब्याजदर रहेको छ । एक वर्ष अगाडि ३६४ दिने ट्रेजरीको ब्याजदर ३.७२ प्रतिशत थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस