अहिले चलिरहेका उद्योगको क्षमता बढाउन आवश्यक : मन्त्री बडू « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अहिले चलिरहेका उद्योगको क्षमता बढाउन आवश्यक : मन्त्री बडू


१२ असार २०७९, आइतबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक रहेको बताएका छन् ।

आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले यस्तो बताएका हुन् ।

उनले कतिपय उद्योगहरु आफ्नो पूर्ण क्षमतामा चल्न नसकेको भन्दै सबै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नसके देशभित्र नै रोजगारीको अवसर सिर्जना हुने बताए ।

मन्त्री बडूले अहिले भइरहेका उद्योगहरु ६० देखि ७० प्रतिशतसम्म मात्रै चल्न सकेको भन्दै यसलाई पूर्ण रुपमा चलाउने कार्यदिशामा सरकार अग्रसर रहेको बताए ।

उनले रुग्ण उद्योग सञ्चालनका लागि उपयुक्त ढाँचा बनाउने काममा सरकार लागिरहेको भन्दै सरकारले स्वयं वा सरकार र निजी क्षेत्रको पीपीपी मोडेल वा त्यसभन्दा अतिरिक्त लामो लिजमा दिएर पनि रुग्ण उद्योग सञ्चालन गर्ने तयारी रहेको बताए । मन्त्री बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजाने प्रयत्न अहिलेको बजेट वक्तव्यले गरेको दाबी गरे ।

मन्त्री बडूले अहिलेको भन्दा रोजगारी र उत्पादन बढी वृद्धि गर्नेतर्फ सरकार अग्रसर रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस