युवा पुस्तालाई दुर्व्यसनबाट बचाउने हामी सबैको दायित्व : गृहमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

युवा पुस्तालाई दुर्व्यसनबाट बचाउने हामी सबैको दायित्व : गृहमन्त्री


१२ असार २०७९, आइतबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागूपदार्थ दुर्व्यसनी चुनौतीको रुपमा अघि बढिरहेको बताएका छन् ।

आज (आइतबार) काठमाडौँमा आयोजित लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । उनले लागूपदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए ।

मन्त्री खाँणले लागूऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । उनले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको बताए ।

गृहमन्त्री खाँणले लागूऔषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताए । उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपुस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले भने, ‘लागूपदार्थ चुनौतीको रुपमा अघि बढेको छ । लागूपदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ । आज सबैभन्दा बढी प्रभाव युवा पुस्तामा परिरहेको छ ।

हाम्रो युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो । सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिबद्ध छ ।

आउने दिनमा सरकारले अझै बढी ध्यान दिन, जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपुस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्नेछ । आज बाट नै लागूपदार्थबाट मुक्त हुनुहोस् ।’

गृहमन्त्री खाँणले विभिन्न अपराधिक गतिविधिहरु मध्येमा लागूपदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशतभन्दा बढी पुगिसकेको र लागूपदार्थ अपराधमा दोषी ६ हजारभन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस