मुम्बइ हमलाका हर्ताकर्तालाई पाकिस्तानमा १५ वर्ष जेल सजाय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुम्बइ हमलाका हर्ताकर्तालाई पाकिस्तानमा १५ वर्ष जेल सजाय


११ असार २०७९, शनिबार


काठमाडौँ । सन् २००८ मा मुम्बईमा भएको आतङ्ककारी हमलाका हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतङ्कवाद विरोधी अदालतले आतङ्कवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ । लाहोर अदालतले हाल कोट लखपत जेलमा सजाय खेपिरहेका मिरलाई ४ लाख रुपैयाँभन्दा बढी जरिवाना पनि तोकेको छ ।

‘यस महिनाको सुरुमा लाहोरको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित लस्कर–ए–तैयबा (एलईटी)का एक कार्यकर्ता साजिद माजिद मिरलाई आतंकवादीलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको थियो’, सो मुद्दासँग जोडिएका एक वकिलको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

लाहोरमा जन्मेका मिरले मुम्बई आक्रमणको योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्नमा प्रमुख भूमिका खेलेका थिए । मुम्बई नरसंहारमा २६ विदेशीसहित १६६ जनाको मृत्यु भएको थियो । आक्रमणमा तीन सयभन्दा बढी घाइते भएका थिए । उक्त हमलामा ९ आक्रमणकारी मारिएका थिए ।

सो हमलापछि भारत–पाकिस्तान तनाव बढेको थियो । आक्रमणमा उनको संलग्नतालई लिएर मिरलाई भारतले मोस्ट वान्टेडको सूचीमा राखेको थियो । दुई देशका क्रिकेट टोलीबीचको खेल हेर्न क्रिकेट फ्यानको रूपमा उनी सन् २००५ मा भारत गएका थिए । त्यतिबेला उनी करिब १५ दिन भारतमा बसेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस