नापी कार्यालय तनहुँले गर्‍यो सय एक परिवारलाई लालपुर्जा वितरण « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नापी कार्यालय तनहुँले गर्‍यो सय एक परिवारलाई लालपुर्जा वितरण


१० असार २०७९, शुक्रबार


काठमाडौँ । नापी कार्यालय तनहुँले ऋषिङ-४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपुर्जा वितरण गरेको छ । साबिकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपुर्जा वितरण गरेको हो ।

गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रूपमा सर्वसाधारणलाई पूर्जा वितरण गरेका थिए ।

पूर्जा पाएपछि स्थानीयवासी खुसी भएका छन् । पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैङ्कबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशवण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सानाप गरिएको थियो ।

तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घरहरू भएका ठाउँमा नापनक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गाहरूमा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस