मतदाता नामावली दर्तामै कष्ट बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न थापा र शर्माको माग « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मतदाता नामावली दर्तामै कष्ट बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न थापा र शर्माको माग


७ असार २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली दर्तामै कष्ट बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेका छन् ।

थापा र शर्माले आज (मंगलबार) प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर ७७ वटै जिल्लामा मतदाता नामावलीमा नाम छुट भएका र भर्खरै १८ वर्ष पुगेकाहरूको हकमा नाम दर्ताकै लागि समेत लाइनमा बस्नुपर्ने र कष्ट बेहोर्नुपर्ने अवस्था रहेको भन्दै त्यसलाई सहजीकरण गर्न माग गरेका हुन् ।

आयोगसँग छलफलपछि महामन्त्री थापाले आयोगले असार १ गतेदेखि देशैभरि मतदाता नामावली दर्ता गरिरहेको भएपनि नाम दर्ताकै लागि नागरिकले भोग्नुपरेको कष्टलाई सहजीकरण गर्न आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए ।

आयोगले आगामी निर्वाचनलाई लक्षित गरेर काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा उपत्यका बाहिर स्थायी निवास भएका तर काठमाडौँमै बसोबास गरिरहेकाहरूलाई समेत नाम दर्ताको व्यवस्था गरेको छ ।

‘काठमाडौंमा काठमाडौं जिल्लाका नागरिकको मात्रै होइन, आयोगले देशभरिका नागरिकको नाम दर्ता गरिरहेको छ यो सकारात्मक छ,’ उनले भने, ‘तर मताधिकार पाउनकै लागि आफ्नो नाम दर्ता गर्न त्यहाँ नागरिकले जस्तो सास्ती भोगिरहनुपरेको छ त्यो सङ्घर्ष, त्यो कष्ट सुहाएन । हामीले सकेसम्म धेरै डेस्कहरू राखेर मतदाता नामावली दर्तालाई सहज बनाउन सुझाव दिएका छौँ ।’

उनले स्थानीय तहमै गएर नामावली दर्ता गर्ने कामलाई समेत निरन्तरता दिन सुझाव दिएको बताए ।

‘निर्वाचनलाई कसरी कम खर्चिलो बनाउने रु कसरी व्यवस्थित र बढीभन्दा बढी मतदाताको सहभागितालाई सुनिश्चित गर्ने भनेर हामीले आयोगलाई सुझाव दिएका छौँ,’ उनले भने, ‘निर्वाचनमा आचारसंहिताको पालना, अनुगमन र कारबाहीको कुरालाई पनि आयोगले जोड दिनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस