विश्वराज पोखरेलले दोस्रोपटक पेस गरेको बिदा पनि अस्वीकृत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विश्वराज पोखरेलले दोस्रोपटक पेस गरेको बिदा पनि अस्वीकृत


७ असार २०७९, मंगलबार


काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ । असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले बताए । प्रहरी प्रवक्ता केसीले भने–‘बिदा अस्वीकृत भएको जानकारी उहाँको घर ठेगानामा पठाइएको छ ।’

जेठ २५ मा पोखरेलले मागेको १० दिने घर बिदा पनि आइजिपी सिंहले अस्वीकृत गरेका थिए । पहिलो पटक बिदा अस्वीकृत भएको १५ दिनपछि ‘हाजिर हुन आउने’ जानकारी दिनुपर्ने प्रहरी नियमावलीमा व्यवस्था छ ।

सरकारले वैशाख १८ मा धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गरेपछि ३० दिनको बिदा लिएका थिए । आइजिपी बढुवा विरुद्ध पोखरेलले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ । मुद्दा कामु प्रधान न्यायाधीश दीपक कार्की र न्यायाधीश डा। कुमार चुडालको इजलासमा असार १३ मा सुनुवाइ हुने गरी हेर्दाहेर्दै राखिएको छ ।

२०७७ मङ्सिरमा पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए । पोखरेलले आफू १६ महिना सिनियर भएको हुनाले सरकारले वरीयता मिचेर सिंहलाई आईजीपी नियुक्त गरेको जिकिर गर्दै आएका छन् । आईजीपीले पहिलोपटक बिदा अस्वीकृत गरेपछि पोखरेलले मुद्दाको टुङ्गो नलागेसम्म ‘हाजिर हुन नजाने’ रातोपाटीसँग बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस