काठमाडौँ । संघिय संसद्को दुवै सदनका बैठक आज मंगलबार पनि बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ ।
प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ ।
बैठकमा संघीय संसद् सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ ।
बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिनिधिसभाको कार्यसूची !

त्यस्तै राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरूमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
बैठकमा भगवती न्यौपानेले ‘विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भन्ने खर्च कटौतीको प्रस्ताव र सोनाम गोल्जेन शेर्पाले ‘विनियोजन विधेयक २०७९ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभाको कार्यसूची !








