अब कक्षा १ देखि ९ सम्मको परीक्षा नगरपालिकाले लिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अब कक्षा १ देखि ९ सम्मको परीक्षा नगरपालिकाले लिने


७ असार २०७९, मंगलबार


काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परीक्षा नगरले लिने निर्णय गरेको छ।

विद्यार्थीको क्षमताको निष्पक्ष मूल्याङ्कनका लागि नगर कै मातहतमा परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परीक्षण गर्दा विद्यार्थीको सही मूल्याङ्कन हुन नसकेको नगर शिक्षा समितिले निष्कर्ष निकालेको छ।

त्यसैले आगामी दिनमा नगरपालिका भित्रका सबै विद्यालयमा (एसइई) जस्तै परीक्षा सञ्चालन गरिने सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १ बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताए।

कक्षा १ देखि ९ सम्मकालागि नै प्रश्नपत्र नगरपालिकाले तयार गर्नेछ। परीक्षाको समयमा पनि हरेक विद्यालयमा फरक विद्यालयका शिक्षक परीक्षा नियन्त्रक बनाएर परीक्षा सञ्चालन गरिने छ भने उत्तर पुस्तिका पनि नगरपालिकाकै मातहतमा परीक्षण हुने उनको भनाइ छ।

नगर शिक्षा समितिले निर्णय गरेसँगै अहिले कार्यविधि निर्माण भइरहेको छ।

अब आर्थिक वर्ष २०७९-०८० को बजेटमा यस कार्यक्रमलाई समावेश गरेर सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परीक्षा नगरपालिकाको मातहतमा हुने उनको भनाइ छ।

यसरी परीक्षा सञ्चालन गर्दा नतिजा राम्रो ल्याउनका लागि विद्यालयहरू बिच प्रतिस्पर्धा हुनेछ। जसले गर्दा शैक्षिक सुधारमा थप टेवा पुग्ने नगर शिक्षा समितिको निष्कर्ष छ।

गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले अङ्ग्रेजी माध्यमबाट अध्ययन गराउने योजनाका साथ यो वर्षबाट माध्यमिक विद्यालयको कक्षा १ बाट सुरु गर्ने निर्णय समेत गरेको छ। जुन योजना कार्यन्वयनकालागि अहिले छलफल भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस