किसानले ट्रकबाट मल खोस्ने अवस्था आउनु राष्ट्रिय लज्जास्पद : सांसद ढकाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

किसानले ट्रकबाट मल खोस्ने अवस्था आउनु राष्ट्रिय लज्जास्पद : सांसद ढकाल


६ असार २०७९, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद नरमाया ढकालले किसानलाई सरकारले समयमा मल र बीउ दिन नसक्नु गम्भीर विषय भएको बताएकी छन् ।

किसानले बाध्यात्मक अवस्था आएपछि ट्रकबाट मल खोसेर लगेको दृश्य राष्ट्रिय लज्जाको भएको पनि उनले बताइन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ढकालले किसानलाई समयमा मल र बीउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएकी थिइन् । उनले भनिन्, ‘यति बेला सामाजिक सञ्जालमा किसानले मल खोस्दै गरेको एउटा भिडियो भाइरल भएको छ । नेपाल कृषिप्रधान देश भनेर नथाक्ने हामी किसानलाई न उन्नत बीउ बिजन दिन सक्छौँ, न पर्याप्त मल किसानले ट्रक रोकेर मल खोस्नु पर्ने बाध्यात्मक अवस्थाको त्यो दृश्य राष्ट्रिय लज्जाको विषय हो ।’

किसानलाई समयमा मल उपलब्ध गराउनका लागि उनले सभामुखमार्फत कृषि मन्त्रालयको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘किसानलाई मल खाद र बीउ बिजन उपलब्ध गराउने दायित्व मन्त्रालय को हो । तत्काल किसानलाई सहज र सहुलियत रूपमा मल उपलब्ध गराउन म सभामुखमार्फत सरोकारवाला मन्त्रालय र मन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

काँग्रेस सांसद पार्वता डिसी चौधरीले पनि किसानलाई सरकारले मल दिन नसकेको तर तस्करहरूले मल ल्याइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘किसानले मल पाइरहेका छैनन् तर तस्करहरूले सेटिङमा मल भित्र्याइरहेका छन् । सिमेन्ट र गहुँ ल्याउने प्रज्ञापन पत्र देखाएर मल तस्करी भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस